खेलकुद

एशिया कप बारे जय शाहले तीन देशसँग छलफल गर्ने

काठमाडौँ । एशिया कप क्रिकेट प्रतियोगिताको आयोजनाको विषय अन्योलमै रहेका बेला एशियन क्रिकेट काउन्सिलका अध्यक्ष समेत रहेका भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग थप छलफल गर्ने भएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार शाहले बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट संघका अध्यक्षहरुलाई मे २८ मा हुने आइपिएलको फाइनल हेर्न बोलाएका छन् । सोहि अवसरमा शाहले एशिया कपको आयोजनाको विषयमा छलफल गर्ने बताएका छन् ।

जय शाहलाई उदृत गर्दै एएनआईले भनेको छ- ‘बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरूले मे २८ मा नरेन्द्र मोदी स्टेडियम (गुजरातको अहमदाबादमा) मा हुने टाटा आईपीएल २०२३ को फाइनल हेर्ने छन् । हामी एशिया कप २०२३ को सम्बन्धमा भावी कार्यदिशाको रूपरेखाका लागि उनीहरूसँग छलफल गर्नेछौं ।’

पाकिस्तानले आयोजना गर्ने एशिया कपमा भारत खेल्न नजाने भनेपछि अहिलेसम्म एशिया कपको आयोजनाको विषय अन्योलमै रहेको छ ।

यस अघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजाम सेठीले एशिया कपका १३ मध्येको ४ खेल आफूले आयोजना गर्ने र फाइनलसहितका ९ खेल तटस्थ भूमि (युएई) मा आयोजना गर्ने प्रस्ताव राखेपनि भारतले अस्वीकार गर्दै आएको बताइएको छ ।

अर्को तर्फ पाकिस्तानले एशिया कप खेल्न भारत आफ्नो भूमिमा नआउने भएपछि आफु पनि भारतमा हुने विश्वकप खेल्न अक्टोबर–नोभम्बरमा भारत नजाने बताइरहेको छ ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसहित नेपालले सेप्टेम्बर २ देखि १९ सम्म हुने एसिया कपमा सहभागिता जनाउने तालिका रहेको छ । नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *