खेलकुद

विश्वकप छनौटमा नेपालले आज कतारको सामना गर्दै

काठमाडौ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत आज कतारविरुद्ध खेल्दै छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा नेपालले यसअघि आयोजक मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको छ । नेपाल अहिले समुह ए मा ३ खेलमा ६ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै कतारले भने अहिलेसम्म खेलेका ३ खेलमा नै हार बेहोरेर अंक तालिकामा पुछारमा रहेको छ ।

सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतियोगितामा नेपालले यो खेलपछि युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ । दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *