
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा यूएईलाई हङकङले ६९ रनले पराजित गरेको छ । रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल खेल्न पाउने भएको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको सहयोगमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
हङकङले पहिलो विकेटमा चाँडै बाहिरिएर ३३ स्कोर भएको बेलामा ओपनर निजाकत खान मात्र ९ रनमा आउट भएका थिए ।
कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको साझेदारी गरे भने रथ व्यक्तिगत ४१ रनमा आउट भए ।
कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारीमा अन्तिम १० बल खेल्न बाँकी छँदा ८६ रनमा आउट भएर ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।
हायत ६० रनमा अविजित रहेर २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए । यसस्ँगै उनी टी–२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए । जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसको सुरुवात निकै खराब थियो । ८१ रन जोड्दा ५ विकेट गुमाइसकेको बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । निलांश ३१ र बाजिल ३० रनमा अविजित रहे ।
खालिद शाहले ३५ र अलिशान आशरफूले ३० रन जोडेका थिए । श्रृंखलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो । तर रन रेटका आधारमा समान २ अंक जोडेको यूएई फाइनलमा पुगेको छ । बुधबार यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा बाजी मार्दै फाइनल पुग्ने थियो । तर, पछिल्लो तीन ओभरमा हानेको चार बाउन्ड्री मद्दतमा यूएईले १३४ रन कटाउन सफल बनेको छ ।