काठमाडौं । झापाको कनकाई नगरपालिका सुरुङ्गामा ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजना यही फागुन १४ गतेदेखि तीनदिनसम्म महोत्सवमा सञ्चालन हुने आयोजकले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्लास्तरीय साहित्य गोष्ठी र राष्ट्रिय साहित्य गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन अघि स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरिनेछ ।
महोत्सवमा राष्ट्रियस्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीको प्रस्तुति रहने छ । महोत्सवमा कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक वितरण, राष्ट्रिय वेशभूषा, प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणआदि कार्यक्रम रहने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए।
पहिलो दिन कक्षा छ देखि १२ कक्षासम्मका विद्यार्थीलक्षित कविता लेखन प्रशिक्षण कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन विभिन्न विद्यालयका शिक्षक, स्थानीय स्रष्टा तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीलक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।