देश

काँक्रेविहारमा पर्खाल निर्माण गरिने

काठमाडौं । लामो समयसम्म रोकिएको काँक्रेविहार पर्खाल निर्माणको काम अघि बढ्ने भएको छ । प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई निरन्तरता दिन लागेको हो ।

विसं २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माण अघि नबढाउन भनेको थियो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई पाँच÷सात मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन ।

अहिले वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेशसमेत दिएपछि काम सुरु हुने भएको हो । विसं २०७९ मङ्सिर २८ गते संरक्षित क्षेत्रको सबै वनक्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो । अदालतले गरेको फैसलाअनुरूप काम अघि बढाउन लागिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । काम अघि बढाउन चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन समेत गरेको छ ।

विसं २०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ ‘कम्पाउण्ड वाल’ (पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महावीर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्जर सुर्खेतसँग रु ११ करोड ८५ लाख ४२ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो ।

काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिटर क्षेत्रमा ‘कम्पाउण्ड वाल’ निर्माण गरिनेछ । अहिलेसम्म निर्माण कम्पनीले एक करोड ३३ लाख मात्र भुक्तानी लिएको छ ।

डिपिआरअनुसार पर्खाल निर्माण (कम्पाउन्डिङ) का लागि रु २१ करोड लागत अनुमान छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ । अदालतको आदेश आए पनि निर्माण कम्पनीको म्याद सकिएकाले काम हुन नसकेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । म्याद थपका लागि निर्माण कम्पनीले निवेदन पेस गरेको डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले बताए ।

उनका अनुुसार म्याद थपका लागि निर्माण कम्पनीले पटकपटक निवेदन पेस गरिरहेको छ । पछिल्लो पटक २०८० चैत ९ गते निवेदन पेस गरेको हो । सार्वजनिक खरिद ऐन २०६३ को १३आँै संशोधनको प्रावधानअनुसार म्याद थप गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए।

उनले भने, “सार्वजनिक खरिद ऐनको १३औँ संशोधनले म्याद थपको बाटो खुला गरिदिएकाले पुरानै निर्माण कम्पनीसँग म्याद थप गरेर काम अघि बढाउछौँ ।”

काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ ।

उनका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपत्कालीनद्वार (इमर्जेन्सी एक्जिट) बन्ने भएको छ । अबको केही दिनमा काम अघि बढाइने कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चासोका रूपमा पर्खाल निर्माण कार्यलाई लिइएको छ । मन्त्रालयका निमित्त सचिव राजेन्द्रकुमार वासुकलाले कम्पाउन्डिङ (पर्खाल) निर्माणका लागि बाटो खुला भएको बताए ।

सार्वजनिक खरिद ऐनको नयाँ प्रावधानअनुसार पुरानै ठेक्काको म्याद थप गरेर काम अघि बढाउन सकिन्छ । सरकारले बजेट पनि विनियोजन गरिसकेको छ । काम अघि बढाउन डिभिजन वन कार्यालय सुर्खेतलाई भनिरहेको भन्दै उनले सबै प्रक्रिया पूरा भएकाले केही समयमा नै काम अघि बढ्ने जानकारी दिए ।

सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५ दशमलव पाँच हेक्टर छ । उक्त क्षेत्रको संरक्षणका लागि कम्पाउन्डिङ (पर्खाल) निर्माण गर्न लागिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *