विश्व

इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममाः एचआरडब्ल्यू

बेरुत, लेबनान । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ।

युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियालीहरू एक महिनामा लेबनानस्थित शरणार्थी केन्द्रहरूबाट स्वदेश फिर्किएका छन् ।

“लेबनानबाट भागेका सिरियालीहरू, विशेष गरी पुरुषहरूले सिरियाली अधिकारीबाट स्वेच्छाचारी हिरासत र दुर्ब्यबहारको जोखिम मोल्छन्,” समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक एडम कुगलले भने, “शङ्कास्पद अवस्थामा निर्वासनमा रहेकाको हिरासतमा भएका मृत्युले भाग्नेहरूलाई स्वेच्छाचारी नजरबन्द, दुब्र्यवहार र उत्पीडनको खतरालाई उजागर गरेको छ।

इजरायलले सेप्टेम्बर २३ मा सघन हवाई अभियान सुरु गरेयता लेबनानबाट सिरियातर्फ पाँच लाखभन्दा बढी मानिस भागेका छन्, जसमा तीन लाख ५५ हजार १० भन्दा बढी सिरियाली नागरिक रहेको लेबनानको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

एचआरडब्लुले अक्टोबरमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।

सिरियाली सेनाको गुप्तचर निकायले आफ्ना पतिलाई ‘तुरुन्तै’ पक्राउ गरेको एक महिलाको घटनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “हालैको आममाफीले ती महिलाका पति (पूर्ब सैनिक) लाई पनि समेट्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन ।”

“सिरिया पहिलेको तुलनामा सुरक्षित छैन, तर लेबनानमा बढ्दो खतराका कारण धेरै सिरियालीहरू अन्यत्र जान नसक्ने र पुनः सिरियातर्फ नै पर्किनुपर्ने अवस्थामा पुगेका छन्,” कुगलले भने ।

उनले अगाडि भने, “उनीहरूको फिर्ती सिरियाको सुधारिएको अवस्थाको सङ्केत होइन, तर उनीहरूलाई सुरक्षित विकल्पहरूबाट बन्द गरिएको र हिरासत, दुब्यवहार र मृत्युको जोखिमको सामना गरिरहेको देशमा फर्कन बाध्य पारिएको तीतो वास्तविकताको सङ्केत हो।”

गत हप्ता यातायातमन्त्री अली हामिहले एएफपीलाई बताएअनुसार इजरायली बमबारीले लेबनान र सिरियाबीचको दोस्रो सीमा पार गर्न अक्षम बनाएको छ ।

हिजबुल्लाहसँग करिब एक वर्षको सीमापार गोलीबारीपछि इजरायलले गत महिना समूहको गढमा आक्रमण तीव्र पारेको थियो र त्यसपछि सीमापारी स्थलसेना पठाएको थियो।

लेबनानमा सेप्टेम्बर २३ यता जारी युद्धमा कम्तीमा एक हजार ७५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ तर युद्धमा मारिनेको वास्तविक सङ्ख्या यो भन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।

इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बर ३० देखि स्थलगत कारबाही सुरु गरेयता ३७ जना सैनिकको ज्यान गइसकेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *