बेइजिङ।चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन् यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीएनएनले जनाएका छ ।
राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभी) लाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले जानकारी प्राप्त भएको बताएका छन् ।
सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् । लामो बाटो हिँड्नुपर्ने भएपछि ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन् यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् ।
यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् ।