अर्थ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो ।  

जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको छ ।


सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिन र २८ दिन को लागि ट्रेजरी बिलमा बोलकबोल गर्दै छ ।

कार्यालयले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिन अवधिकै १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो पनि २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

बोलकबोलमा २०८१ माघ ७ गते सोमबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यसअघि माघ २ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.७९ प्रतिशत कायम भएको थियो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

ट्रेजरी बिल (Treasury Bill, या T-Bill) भनेकाे के हाे जान्नु हाेस्

ट्रेजरी बिल (Treasury Bill या T-Bill) भनेको सरकारी ऋण पत्र हो जुन सरकारद्वारा छोटो अवधि (साधारणतया ९० दिनदेखि ३६५ दिनसम्म) को लागि जारी गरिन्छ। यसमा सरकारले पूँजी उठाउनको लागि सस्तो दरमा ऋण लिन्छ र तदनुसार लगानीकर्ताले एक निश्चित समयपछि आफ्नो मूलधन फिर्ता प्राप्त गर्छ।

ट्रेजरी बिलको विशेषताहरू:

अवधि: ९० दिनदेखि ३६५ दिनसम्मको अवधिमा जारी हुने छ।

  1. ब्याज दर: T-Bills मा कुनै किस्ता ब्याज हुँदैन। यसको सट्टा, यी बिलहरू प्राय: मूल्य भन्दा कम मूल्यमा बिक्री गरिन्छ र परिपक्वतामा आफ्नो फेस भ्याल्यू (मूल्य) मा तिर्ने वचन दिन्छ।
  2. जोखिम कम: सरकारले जारी गर्ने भएकाले यी बिलहरू निकै कम जोखिमपूर्ण मानिन्छन्।
  3. लाभ: लगानीकर्ताले T-Bill सस्तो मूल्यमा किनेर परिपक्वतामा उच्च मूल्यमा प्राप्त गर्ने लाभ उठाउँछन्।

उदाहरणको लागि, यदि तपाईंले १०,००० रुपियाँको T-Bill ९० दिनको लागि ९,८०० रुपियाँमा किन्नुभयो भने, ९० दिन पछि तपाईंलाई १०,००० रुपियाँ प्राप्त हुन्छ। यसरी तपाईंले २०० रुपियाँको लाभ कमाउनुहुन्छ।

यसले सरकारी वित्त व्यवस्थापनमा सहयोग पुर्याउँछ र लगानीकर्ताहरूलाई पनि सुरक्षित तरिकामा छोटो अवधिको लगानीको अवसर दिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *