काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती वैधानिकता दिन सरकार पछि हट्न नहुने बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी प्रयोग गर्न जाने औषधिको रुपमा प्रयोग हुने गरेको तर राज्यले देशमा भएको कच्चा पदार्थलाई प्रतिबन्द लगाएर विदेशबाट अर्बौँको मदिरा खरिद गर्ने प्रवृत्ति बढाएको उनले बताइन् ।
‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्यो भने निको हुन्छ’ उनी थप्छिन्, ‘तर, स्थानीय प्रशासनले त्यस्तो लोकल रक्सिलाई प्रतिबन्द लगाउँदै आएको छ । साथै, गाँजा खेती खुलाउने उनको प्रस्ताव छ । गाँजा औषधिको रुपमा प्रयोग हुने, गाँजाको बोट धागोका लागि प्रयोग हुने उल्लेख गर्दै उनले भनिन्, ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौँ । आर्थिक आम्दानी गर्न सक्छौँ ।’
मरुभूमिजस्ता अरबका देशहरू आफैँसँग भएको पेट्रोलियम पदार्थको प्रयोग गरेर धनी भएको उल्लेख गर्दै उनले नेपालले पनि आफूसँग भएका साधन र स्रोतको उपयोग गर्नुपर्नेमा जोड दिइन् । यसो गर्न सकिए रोजगारी सिर्जना गर्न सकिने र युवाहरूको विदेश पलायन समेत रोक्न सकिने बताइन् ।
नेपालमा यो विषय निकै लामो समय देखी उठेपनि सरकारले यसका बारेमा ठोस निर्णय निकाल्न सकेको छैन । बहस जारी रहेका बेला सरकारमा सामेल भएका नयाँ दलका नेताहरूले उक्त विषयमा बहस नै गरेका छैनन् । यो ठुलो कमजोरी हो । नेपालमा भएका स्रोत साधनको उचित प्रयोग गरी रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रलाई माथि उठाउने स्रोत र साधनको अहिलेसम्म परिचालन हुन सकेको छैन । नेपालले आफ्नै स्रोत र साधनको
उचित रुपमा परिचालन गर्न सकेको छैन । नेपालमा लोकल रक्सी ब्रान्डिङ गरेर बिक्री वितरण गर्ने र गाँजालाई उद्योग धन्दा र औषधीको रुपमा जोड्ने विषयमा नयाँ राजनैतिक दल,नेता तथा कार्यकर्ता , नागरिक समाज, कृषक,मन्त्री र प्रधानमन्त्रीले बहसको रुपमा लिएर वैधानिक गर्न आवश्यक छ ।




