शिक्षा / स्वास्थ्य

कुलपतिले पठाए केयू उपकुलपति छनोट समितिलाई पत्र,कार्यविधिमा पुनर्विचार गर्न आग्रह

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिलाई प्रधानमन्त्री एंव कुलपति केपी शर्मा ओलीले कार्यविधिमा पुनर्विचार गर्न पत्र पठाएका छन् । केयूको सभाले ४ माघमा कार्यविधिमा पुनर्विचार गर्न छनोट समितिलाई निर्देशन दिएको थियो । समितिले औपचारिक पत्र खोजेपछि कुलपति ओलीले उपकुलपति खोज तथा सिफारिस सम्बन्धि कार्यविधि, २०८१ को दफा ४ को उपदफा (१) (क) बमोजिम उपकुलपति पदको लागि उम्मेदवारको आवश्यक न्यूनतम योग्यता परिमार्जन गर्न पत्र पठाएका हुन् ।

‘आवश्यक पुनर्विचार गर्न काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३ को उपदफा (४) बमोजिम सिफारिस समितिलाई निर्देशन दिने निर्णय भएको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ । केयूका डाक्टरहरूले एमडी, एमएस र एमडीएस नसमेटिएको भन्दै कुलपति ओलीलाई निवेदन दिएका थिए । सोही आधारमा कुलपति ओलीले सबैलाई समेटेर आवेदन लिन छनोट समितिलाई निर्देशन दिएका थिए । कुलपतिको पत्र प्राप्त भएपछि आवश्यक निर्णय गर्न छनोट समिति आन्तरिक छलफलमा जुटेको छ ।

नयाँ उपकुलपतिका लागि १८ पुसमा आवेदन खुलाइएको थियो । जसमा १७ जनाको आवेदन परेको थियो । छनोट समितिले २ माघमा १६ जनाको नाम स्वीकृत गरेर सार्वजनिक गरेको थियो । कार्यविधि सच्याउने वा के गर्ने भनेर छनोट समितिले निर्णय गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *