
नुवाकोट । बेलकोटगढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई राष्ट्रिय परिचयपत्रको आवेदन नम्बर अनिवार्य रुपमा वडा कार्यालयमा बुझाउन आग्रह गरेको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको निर्णयअनुसार आगामी असोज १ गतेदेखि भत्ता नवीकरण तथा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको छ। यसअघि नगरपालिकाले सबै वडामा टोली खटाएर परिचयपत्रका लागि विवरण संकलन गरिसकेको छ।
सूचनामा लाभग्राहीहरूलाई आफ्नो फोटोसहितको राष्ट्रिय परिचयपत्रको आवेदन नम्बरको प्रतिलिपि र सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि सात दिनभित्र सम्बन्धित वडा कार्यालयमा बुझाउन भनिएको छ। तोकिएको समयमा आवेदन नम्बर नबुझाएमा भत्ता रोकिन सक्ने र त्यसको जिम्मेवार वडा वा नगरपालिका नहुने पनि स्पष्ट पारिएको छ।
यद्यपि, बालबालिका, हेरचाह गर्न नसक्ने, अशक्त, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र विवरण दर्ता नभए पनि भत्ता लिन बाधा नपर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाका अधिकृत दिपक थिङले जारी गरेको सूचनामा सबै सम्बन्धित लाभग्राहीहरूलाई समयमै विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरिएको छ।