काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न विवश बनाएको आरोपमा ३५ वर्षीय देवान राई पक्राउ परेका छन् ।
गत मङ्सिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनको गाली बेइज्जतीसँगै निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक संजु कार्कीले जानकारी दिए ।
घटना भएको १३ दिनपछि पीडित परिवारले प्रहरीमा राईविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उजुरी दिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ का राईलाई पक्राउ गरेको उनको भनाइ छ । मँशिर १७ गते प्रहरीमा उजुरी परेको थियोे । खड्काले आफूमाथि राईले लगाएको आरोप र गाली बेइज्जती सहन नसकी ९ गते राति घरबाट दुई सय मिटर पर दुधिलोको रूखमा झुन्डी आत्महत्या गरेका थिए । खड्काले आफूले आत्महत्या गर्नुको मुख्य कारण पैसा चोर दोष लगाई गाली बेइज्जती गर्ने देवान राई रहेको सुसाइड नोटमा उल्लेख गरेको पीडितका दाजु गणेश खड्काले जानकारी दिए । राईको कुटाईबाट मृतक सुमनको शरीरका विभिन्न भाग र नलीखुट्टामा गहिरो चोट रहेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय खाेटाङका इनिस्पेकटर माेहन बाेहाेराले प्रत्यक्षदर्शीका अगाडी पिडक राईलाई उपस्थित गराएर मृतक सुमन खडकालाई कुटपिट गरेकाे विषयमा साेधपुछ गर्दा राईले उक्त विषय स्वीकार गरिसकेका छन् । राईले पसलमा सीसी टिभी समेत नराखेकाले विनाप्रमाण भाईमाथि लगाएकाे अाराेप सहजै स्वीकार्ने ठाँउ समेत नभएको र यदि त्यस्तो कार्य गरेकाे भएपनि सम्बन्धित घरपरिवार तथा निकायमा तत्काल नै जानकारी गराईदिएकाे भए ठूलाे क्षेति बेहाेर्नु पर्ने अवस्था नआउने उनले बताए ।
‘….वर्ष २१ को सुमन खड्कालाई मिति २०८१/०८/०४ गतेका दिन बिना प्रमाण चोरीको आरोप लगाई सम्बन्धित निकाय प्रहरी प्रशासन र परिवारलाईसमेत जानकारी नदिई शारीरिक तथा मानसिक रुपमा यातना दिई कुटपिट गरी मेरो भाइको चरित्रहत्या गरेको हुँदा सोही कारणले मेरो भाइ सुमन खड्काले आत्महत्या नोट लेखी निजले घरदेखि करिब २०० मिटरको दूरीमा, आत्महत्या गर्न बाध्य गराई दुधिलोको रुखमा घाँटीमा पासो लगाई झुन्डिई आत्महत्या गरेको र निजको शरीरको विभिन्न भागमा नीलडाम रहेको अवस्थामा फेला पारी यो जाहेरी दरखास्त दिन आएको छु । उपरोक्तकमोजिम निज देवान राईले मेरो भाइलाई आत्महत्या गर्न बाध्य गराई आत्महत्या गर्न दुरुत्साहन गरी अपराध गरेको हुँदा निजलाई यस कार्यालयबाट पक्रि झिकी आवश्यक अनुसन्धान कारबाही गरी मुलुकी फौजदारी संहिता २०७४ को दफा १८४ उपदफा १ र २ तथा ऐ. को दफा १८६ बमोजिम हदैसम्मको कैद सजाय गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ,’ किटानी जाहेरीमा भनिएको छ ।






