काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गरे ।
उनले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताए । उनले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताए । उनले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य वृद्धि नभएको बताए । उनले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरूसँग ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताए ।
उनले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताए । उनले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिए । उनले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिबद्धता जनाए ।
उनले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताए ।
उनले भने ‘पछिल्लो पटक असार महिनामा निर्धारण भएको सिमेन्टको मूल्यमा थोरै वृद्धि गर्ने गरी निर्माण व्यवसायीहरूले सहमति जनाएको अवस्था हो ।उत्पादन,बजार अभावका विषयमा फुलफेजमा उत्पादन गरी उत्पादन लागतका आधारमा मूल्य समायोजन हुनेकुरा भइसकेको थियो । समितिले दिने निर्देशनअनुसार चाँडै टुग्याउँछौं । उद्योगको मूल्य लागतअनुसार फरक—फरक छ । ४०० मूल्यको सिमेन्ट ८०० भएको सत्य होइन ।
हाल ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म छ । ५०– ७५ प्रतिशत मूल्य वृद्धि भएको भन्ने पनि सत्यता छैन । यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेका छौँ । उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर, चाँडै टुग्याउँछौँ ।’
मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुङ्गो लगाउने उल्लेख गरे ।