देश

रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै

काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ ।

जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिए पछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको हो । बुधबार लामिछाने माथिको बयान सकिएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ ।

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । यसैबीच जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आउँदो साता भित्र लामिछाने विरुद्ध मुद्दा दर्ता गरिने जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले चाहिँ अनुसन्धान जारी रहेको भन्दै मुद्दा दर्तामा केही समय लाग्ने जनाएको छ । यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा कास्की जिल्ला अदालतले लामिछानेलाई रिहा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *