काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका रविको सोही दिन बयान सकिएको थियो । बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकिएपछि अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।
प्रतिवादीका तर्फबाट अधिवक्ता सुशिल पन्तको बहस जारी भएको बताइएको छ । थुनछेक बहस सकिएपछि आदेश आउनेछ ।
लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा दालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दालाई सघाउन गत मंगलबार लामिछाने भैरहवा पुगेका थिए ।
बुधबार लामिछानेमाथिको बयान सकिएको थियो, भने आज पनि थुनछेक बहस नसकिएकाले लामिछाने भोली शुक्रबार फेरी अदालत उपस्थित हुनु पर्नेछ । लामिछाने सँग सुप्रीम सहकारीको मुद्दामा ४ करोड बढी विगो माग गरिएको छ ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पौष २५ गते जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
लगत्तै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा पनि उनी काठमाडौं जिल्ला अदालतबाट ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।