
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न चेतावनी दिएका छन् ।
बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भूमि सम्बन्धी अहिले विभिन्न भ्रम फैल्याइएको बताए । उनले बुझ्दै नबुझी, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम भएको भन्दै आपत्ति जनाए ।
उनले पहिला अध्यादेशमा के छ भन्नेकुरा पढ्न र बाहिर बोल्न नेता र कानूनविद्हरुलाई आग्रह गरे । अध्यादेशले कुनै हानी नगर्ने भन्दै अध्यादेशको बारेमा बहस गर्न पनि आफू तयार रहेको बताए । अध्यादेशहरू संसदबाट पारित हुने पनि दाबी गरे ।
उनले भने ‘भूमि सम्बन्धी अहिले विविध खाले हल्लाहरू गरिएको छ । हाम्रो देशको सन्दर्भमा धेरै खाले भूमिका अवस्थाहरू छन् । कतिपय बुझ्दै नबुझी, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम गरिएको छ । मैले कानूनविद्हरुलाई पनि भनेँ, राजनीतिक नेताहरूलाई पनि भनेको छु । पहिला अध्यादेशमा के छ रु पढ्नुपर्यो । त्यसपछि बल्ल बाहिर बोल्नुपर्यो । होइन भने हामीसँग बहस गर्नुप¥यो । हामी बहस गर्न तयार छौँ । र यी अध्यादेशहरू पास हुनेछन् । नेपाली जनताका समस्याहरू समाधान गर्न र कर्मचारीका समस्या समाधान गर्दै कर्मचारी संगठनले लिएका उद्देश्य र लक्ष्यहरू यहाँहरूको बानी, व्यवहार, शैली, काम गराइले प्रमाणित गरेर भोलिका दिनमा अझ व्यवस्थित, सशक्त र यो देशले चाहेको निजामती कर्मचारी संगठनको कामले प्रमाणित गरेर देखाउनु हुनेछ ।’
मन्त्री अधिकारीले सहकारीप्रति गलत भाष्य सिर्जना गरिएको बताए । उनले सहकारीले राज्यका समस्या हल गर्ने र जनताको जीविकोपार्जनको सुनिश्चितता गर्दछ र आर्थिक समृद्धितर्फ जान र रोजीरोटी बिस्तार गर्न सहकारीले काम गरेको छ भनेर प्रचार गर्न जरुरी रहेको बताए ।