
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन्। उनलाई पोखरा विमानस्थलमा समर्थकहरूले भव्य बिदाई गरे।
पोखरामा निजी भ्रमणका क्रममा लामो समय बिताएपछि उनी आज काठमाडौं फर्किएका हुन्। समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा काठमाडौं आइरहेका छन्। पोखरा विमानस्थलमा उनलाई बिदाई गर्न ठूलो संख्यामा समर्थक उपस्थित भएका थिए। पञ्चेबाजासहितको सांस्कृतिक कार्यक्रमबीच उनलाई दुवोको माला लगाएर बिदाई गरिएको थियो। समर्थकहरूले राजसंस्थाको समर्थनमा नाराबाजीसमेत गरेका थिए। संस्कृतिविद् डा. जगमान गुरुङ पनि उनलाई बिदाई गर्न विमानस्थल पुगेका थिए।
यसअघि, शनिबार राति पूर्वराजाले माउन्ट ग्लोरी रिसोर्टमा आफ्ना निकट व्यक्तिहरूलाई विशेष रात्रिभोज दिएका थिए। भोजमा धार्मिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
काठमाडौंमा भने पूर्वराजालाई भव्य स्वागतको तयारी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि हजारौं समर्थक भेला भइसकेका छन्। समर्थकहरू उनको स्वागतमा विभिन्न नारा लगाइरहेका छन् भने विमानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।