देश

पूर्ण रुपमा श्रम ऐन कार्यान्वयनका लागि ट्रेड युनियन कांग्रेसले दबाबमूलक अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले पूर्ण रुपमा श्रम ऐन कार्यान्वयनका लागि कानुनी व्यवस्था गर्न र कटौती गरिएका अधिकार पुनस्थापित गर्न दबाबमूलक अभियान सञ्चालन गर्ने भएको छ ।

फागुन २१ र २२ गते भक्तपुरको बोडेमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले विभिन्न १५ बुँदे विशेष प्रस्ताव पारित गर्दै पूर्ण रुपमा श्रम ऐन कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘बैक तथा वित्तीय संस्था, सार्वजनिक सेवा क्षेत्र, विशेष ऐन लागू हुने अन्य प्रतिष्ठान एवं श्रम क्षेत्र र पर्यटन तथा होटेल क्षेत्रलगायत सम्पूर्ण श्रम क्षेत्रमा पूर्ण रुपमा श्रम ऐनको कार्यान्वयनका लागि कानुनी ब्यवस्था गर्न र कटौती गरिएका अधिकार पुनस्थापित गर्न कडाभन्दा कडा दवावमूलक अभियान सञ्चालन गर्ने निर्णय गरियो,’ ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष एवं मूल तयारी समितिका संयोजक तेजेन्द्रजंग कार्कीले भने ।

परिषद् बैठकमा विद्यमान श्रम बजारको अवस्था, ट्रेड युनियन आन्दोलनको अवस्था, मुलकको राजनीतिक एवं आर्थिक परिदृष्य एवं श्रमिकका समस्या र ट्रेड युनियन आन्दोलनको भावी चुनौतीका विषयमा बृहत् छलफल गरी भावी कार्यक्रम, रणनीति र कार्यदिशासहित महासचिवको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन एवं श्रमिक सरोकारका समसामयिक एवं विशेष प्रस्ताव पारित गरिएको छ ।

राष्ट्रिय परिषद् बैठकमा मुलुकभरका २७ वटै राष्ट्रिय आवद्ध संघ, सातवटै प्रदेश, ७७ वटै जिल्लाहरुका अध्यक्षहरुसहित ४५० जना पार्षद र ५० जना पर्यवेक्षक गरी करीव ५०० जनाको प्रतिनिधि सहभागी थिए । फागुन २१ गते ७९औ स्थापना दिवसको दिन ट्रेड युनियन कांग्रेसको पूर्वअध्यक्ष तथा दक्षिण एशिया ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मणबहादुर बस्नेत परिषद्को उद्घाटन गरेका थिए । ट्रेड युनियन महासंघमा चार लाख ५३ हजारभन्दा बढी सदस्य छन् ।

 

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *