देश

महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमतीमा फालियाे शव

काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव बागमतीमा फालिएको भेटिएको छ ।

प्रहरी वृत्त बौद्धको टोलीले हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् ।

शनिबार मध्यान्ह गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी एक महिला मृत भेटिएकी थिइन् ।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत फेला परेकी महिलाको सनाखत हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *