देश

मन्त्रालयलाई बास्तोलाको स्पष्टीकरण : म राजसंस्था पक्षधर हुँ, आपत्ति छ भने पद राख

काठमाडौं । पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण दिएका छन्। मन्त्रालयले आइतबार उनलाई स्पष्टीकरण मागेको विषय सार्वजनिक भएपछि बास्तोलाले फेसबुक मार्फत स्पष्टीकरण दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, “देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो। म देशमा राजसंस्थाको पक्षधर हुँ। राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख,” बास्तोलाले भने, “जुन दिन देशमा राजतन्त्र आउने छ, फेरि त्यति वेला जिम्मेवारी लिउँला। तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन। मेरो स्पष्टीकरण यही हो।”

बास्तोलाले स्पष्टीकरणमा भनेका छन् कि उनले पर्यटन प्रवर्द्धकको पद लिएको भए पनि सरकारले कुनै पनि सुविधा दिएका छैनन्। बरु आफूले आफैँ खर्च गरेर काम गरेको बताएका छन्। “यो पद लिएबापत मैले सरकारको १ रुपैयाँ लिएको पनि छैन। कुनै एक रुपैयाँ लाभ लिएको पनि छैन। बरु आफ्नै खर्चमा यहाँ पोस्टर बनाएर प्रचार गरेको छु,” उनले फेसबुकमा उल्लेख गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री ५ को सम्बोधन गर्दै शुभकामना सन्देश दिएका कारण मन्त्रालयले बास्तोलालाई २४ घण्टामा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। मन्त्रालयले बास्तोलाको कार्यलाई पदीय जिम्मेवारी विपरीत भएको ठहर गर्दै सरकारी लोगो र लेटरप्याडको दुरुपयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

बास्तोलाले आफ्नो फेसबुक पेजमा, नेपाल सरकारको लोगो अंकित लेटरहेडमा पूर्वराजालाई श्री ५ सम्बोधन गरी शुभकामना सन्देश राखेका थिए, जसको कारण मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *