देश

‘व्यवस्था विरोधी आवाज उठ्नुमा सरकारको कार्यशैली जिम्मेवार’

काठमाडौँ। विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरुको आरोप छ ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरुले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए । सो क्रममा उनीहरुले व्यवस्था विरोधी शक्ति सल्बलाउनुमा सरकारको असक्षमता जिम्मेवार रहेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्ति विशेषको बक्सिस नभई, नेपाली जनताले रगत साटेर प्राप्त गरेको उपलब्धि भएको स्पष्ट पारे । उनले सुशासनको अभाव, संस्थागत भ्रष्टाचार र प्रशासनिक पक्षपातका कारण जनतामा वर्तमान व्यवस्थाप्रति निराशा बढ्दै गएको उल्लेख गरे ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले नेपाली जनताकै अभिमतबाट वर्तमान संविधान निर्माण भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति जुट्नुपर्ने धारणा राखिन् । उनले विद्यमान प्रणाली आफैँमा दोषी नभएको तर यसलाई सञ्चालन गर्ने व्यक्ति जिम्मेवार नहुँदा प्रश्न उठ्ने बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नागरिकले पूर्वराजाको पक्षमा आवाज उठाइरहेको र अहिलेको स्थितिले सरकारको असक्षमता उजागर गरिरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *