
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासमा सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ जारी छ । काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो ।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। यसअघि सर्वोच्चले गत असोज ९ गते हालसम्म भएका प्रगति विवरण माग गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले अनुसन्धानका विवरण झिकाउन आदेश गरेको थियो ।