
काठमाडौं । सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराई क्षेत्रमा भने भोली होली मनाइँदै छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी भएर होली पर्वको उल्लास सेयर गरिरहेका छन् । होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै स्वदेशी पर्यटकहरु रमाएका छन् ।
ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्बीमा रङ खेलेर होली पर्व मनाउँदै छन् । यस्तै यी बाहेक अन्य ठाउँमा पनि आज होली खेल्नेको ठूलो भिड लागेको छ ।
आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।
केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।
सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।