देश

लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै पर्सा, प्रहरीको सक्रियता बढ्दो

वीरगञ्ज (पर्सा) । खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन बढ्दै गएपछि त्यसलाई रोक्ने उद्देश्यले पर्सामा तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा यो अभियान थालिएको हो।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषध रोकथामका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याए। उनले भने, “लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न। त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरी छ।”

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषध दुर्व्यसनी रोकथामका लागि पर्साका सबै पालिका एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषध कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रूपमा प्रयोग गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएका थिए। चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको संख्या १०२ पुगेको छ। पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *