देश

विजय मिश्र पुनः बार अध्यक्षमा निर्वाचित : कानुनी सुधारदेखि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाजसम्मको प्रतिवद्धता

काठमाडौं । झण्डै एक दशकपछि फेरि नेपाल बार एसोसिएसनको नेतृत्वमा फर्किएका वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र संस्थागत सुधार र सामाजिक न्यायका एजेन्डासहित अध्यक्षमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेस र एमाले निकट कानुन व्यवसायीहरूको साझा उम्मेदवारका रूपमा प्रस्तुत भएका मिश्रले माओवादी केन्द्र समर्थित अधिवक्ता रमनकुमार श्रेष्ठलाई पछाडि पार्दै जित हासिल गरेका हुन्। चैत २३ मा सम्पन्न निर्वाचनको नतिजा बिहीबार सार्वजनिक भएको हो।

तीन दशकभन्दा बढी समय कानुनी पेसामा बिताएका मिश्र नेपाल ल क्याम्पसका सह–प्राध्यापकसमेत हुन्। उनी मानवअधिकार, संविधान र न्यायिक सुधारमा विशेष काम गर्दै आएका छन्। यसअघि महासचिवका रूपमा ३६ वटा नयाँ पाठ्यक्रम तयार पारेका मिश्र अब अध्यक्षको रूपमा ती योजना कार्यान्वयन गर्ने बताउँछन्।

उनको नेतृत्वमा अब कानुन व्यवसायीहरूको हकहित, न्याय परिषद्को पुनःसंरचना, र कानुनी पेसालाई पारदर्शी तथा उत्तरदायी बनाउने पहल अगाडि बढाइनेछ।

निस्शुल्क कानुनी सहायता कार्यक्रमहरू चलाउँदै आएका मिश्रले अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको न्याय प्रणालीको पक्षमा आवाज उठाउँदै आएका छन्। उनले अमेरिका, क्यानडा, अष्ट्रेलिया, भारत लगायतका देशमा कानुनी अध्ययन र कार्यपत्र प्रस्तुत गरिसकेका छन्।

अध्यक्षको रूपमा उनले न्यायिक ढिलासुस्ती, भ्रष्टाचार र असमानताको अन्त्य गर्न प्रतिबद्धता जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *