काठमाडौं । सशस्त्र प्रहरी बलमा पाँच डीआईजी पद रिक्त भएको छ । सो पद रिक्त भएसँगै एसएसपीहरू बढुवाको दौडधुपमा लागेका छन् । ६ जना डीआईजी अवकाश भए पनि पाँच जनाको मात्रै पद रिक्त भएको हो । पाँचवटा डीआईजी पद रिक्त भएसँगै वरिष्ठ एसएसपीहरू यसको दौडमा लागेका हुन । यसअघि रामप्रकाश श्रेष्ठ अवकाश भएको लामो समय भए पनि सो पदमा पूर्ति हुन सकेको थिएन भने त्यसपछि राजुराम सुवाल अवकाशमा परेका हुन्।
गत पुस ११ गते अर्का डीआईजी वसन्तकुमार बानिया ३० वर्षे सेवा अवधिका कारण अवकाश भए भने गत पुस १६ गते मात्रै डीआईजीहरू सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल पदावधिका कारण अवकाश भएका छन् । अहिले सशस्त्रमा पाँच डीआईजीका पद रिक्त भएसँगै बढुवाको चलखेल सुरु भएको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरीका एसएसपीहरूको वरिष्ठतामा भरत श्रेष्ठ पहिलो नम्बरमा छन् ।
तर, उनको शैक्षिक योग्यता आईए पासमात्रै भएका कारण उनको बढुवा हुने सम्भावना छैन । यसअघि पनि आईएस्सीमात्रै पढेका कारण सञ्जय राणा बढुवा हुनबाट रोकिएका थिए । न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने शैक्षिक योग्यताको प्रावधानको कारणले पनि राणा बढुवा हुन सकेका थिएनन् हरिशंकर बुढाथोकी, कृष्णभक्त बह्माचार्य, राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, वंशीधर दाहाल र किशोर प्रधानलगायत रहेका छन् । किशोर प्रधान प्राविधिक फाँटका हुन् । त्यस्तै अघिल्लो समूहभन्दा केही पछिको र व्यावसायिक रूपमा दक्ष भएको समूह पनि डीआईजी हुन दौडधुपमा लागेका छन् । दोस्रो समूहमा रहेका एसएसपीहरूमा शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्यलगायत रहेका छन् ।