देश

पूर्व लडाकु मञ्जु धमलाकाे फोनपछि सिंहदरबार प्रवेशमा चेकजाँच कडाइ

काठमाडौं । प्रहरीले सिंहदरबार प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ ।

सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुले बोक्ने झोला प्रहरीले चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको प्रहरीले जनाएको छ । असन्तुष्ट पक्षले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्ने र आत्मा दाह गर्ने जस्तो अभिव्यक्ती प्रधानमन्त्रीको सचिवाललाई जानकारी भएपछि सुराकका आधारमा चेकजाँचमा कडाइ गरिएको सिंहदरबार सुरक्षा कार्यालयका एक जना प्रहरी अधिकृतले जानकारी दिए ।

बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको छ । सिंहदरबार स्थित सुरक्षा गणमा डिएसपी सन्तोष तामाङको नेतृत्वमा प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा मंगलबार बिहान पूर्व लडाकु महिला मञ्जु धमलाले फोन गरेर आफ्ना मागहरु सम्बोधन नभए अप्रिय घटना हुने धम्की दिएपछि सचिवालयले तत्कालै सुरक्षा निकायलाई सुरक्षाका लागि खबरदारी गरेको थियो ।

उनले सरकारले उपचार खर्च नहेरे सिंहदरबार भित्र २ जनाले विष सेवन गर्ने र २ जनाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने धम्की दिएकी पछि अहिले सुरक्षाका निकायहरुले कुनै पनि अप्रिय घटना घट्न नदिन सुरक्षालाई कडाईका साथ हेरेका छन् ।
सरकारले नेपालमा नै उपचार गर्न भनेको र आफूले यहाँ उपचार नगर्ने बताएको उनको भनाइ छ ।

उनको भनाइ यस्तो छ ः हामी संघर्ष गरेर आएका हौँ । पार्टीको एजेन्डा बोकेर सुशासनका लागि लडेका घाइते हौँ । देशका घाइते हौँ । देशका लागि लडेकाले पेन्सन र राहत पाएका छन् । हामी निस्वार्थ रूपमा घाइते भएका मान्छे हौँ । हामी सरकारकाविरुद्ध माइतीघर अथवा सिंहदरबारमा जहाँ भए पनि आन्दोलन गर्ने हो । जहिले सम्म न्याय पाइँदैन । सरकारले उपचार गरेन भने निरन्तर रूपमा आन्दोलन गर्ने हो ।

सरकारले नेपालमा नै उपचार गर्न आग्रह गर्दा समेत उनी नेपालमा उपचार नगराउने पक्षमा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *