काठमाडौं । केही दिनयता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिडियामा छाइरहने भूत सवार भएको छ । ६ महिनाअघि प्रधानमन्त्रीको कुर्सी खुस्किएपछि उनी बेरोजगार जस्तै बनेका छन् । त्यही भएर केही न केही बोलेर, घुमघामका तस्बिर छाप्न केही थान गोजीका पत्रकार सँगै लिएर हिँडेका हुन्छन् ।
कोही पत्रकार नभेटिए आफ्नै सचिवालयका सदस्यलाई तुरुन्तै सामाजिक सञ्जालमा अध्यक्षले यसो गर्नु भो, उसो गर्नु भो भनेर पोस्ट्याइहाल्छन् । समाचारको खडेरी परेका बेला मिडियालाई पनि खोइ के निहुँ पाउँ कनिका केलाउँ भनेजस्तै ‘स्कुप’ समाचार भनेर प्रचण्डले यसो गरे, मर्निङवाकमा यहाँदेखि उहाँसम्म हिँडे भनेर ठूल्ठूला हेडिङ राखेर समाचार बनाइहाल्छन् ।
कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रायः सबै दलका शीर्ष नेतादेखि सांसद फुर्सदमा छन् । अझ संसद् अधिवेशन नबोलाएकाले पनि सांसददेखि समाचारमा आउन चाहिरहने नेताको बेतुकका कुरा जनताले सुन्नुपरेको छैन ।
तीस वर्ष भइसक्यो संसदबाट सांसदले जनता र देशका नाममा बोल्न थालेको । तर अहिलेसम्म माखो मरेको छैन । त्यही भएर पनि अहिले नेताको कुरा जनताले सुन्न र पत्याउन छाडेका छन् । यहीबेला प्रचण्ड भने कहिले तुरुन्तै सरकार ढालिदिन्छु भन्छन् । कहिले आन्दोलनको आँधीबेहरी सिर्जना गरिदिन्छु भन्छन् ।
कहिले प्रधानमन्त्रीको राजीनामा माग्छन् । कहिले सरकार भ्रष्टाचारको पक्षपोषणमा लाग्यो भन्छन् । कहिले पार्टीको बैठक राखेर सरकारलाई गाली गर्छन् । कहिले विपक्षी दलको मोर्चा बनाएर अब हामी बलियो भयौं, यो सरकारको विकल्प खोज्छौं भन्छन् ।
खासमा भन्ने हो भने प्रचण्डको यो सबै छटपटी प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्यालु नदिएर हो ।
यदि ओलीले भाउ दिएको भए प्रचण्ड कहिले सिंहदरबार त कहिले बालुवाटारकै वरिपरि घुमिरहेका हुन्थे । जनताका समस्या उनलाई पत्तै हुँदैनथ्यो । नयाँ सरकार बनेको यत्रो समयसम्म पनि आफूलाई कुनै भाउ नदिइएपछि प्रचण्ड रन्थिनिएका छन् । त्यही भएर कहिले सुकुटे बीच पुगेर सरकारको विकल्प खोज्नुपर्यो भन्छन् ।
कहिले विराटनगरको सडकमा मर्निङवाकमा भाक्का खाँदै सरकारलाई सत्तोश्राप गर्न पुग्छन् । प्रचण्डले ओली सरकार ढल्छ भनेको ६ महिना बितिसक्यो । ओली प्रधानमन्त्री बनेदेखि नै हो उनले यो सरकार आज ढल्छ भरे नै ढल्छ भन्न थालेको । तर त्यसको कुनै छनक अहिलेसम्म देखिएको छैन । त्यही भएर प्रचण्डमा ठूलो छटपटी छ । कतै यो गठबन्धन ०८४ सम्मै जाने त होइन रु कतै अझै तीन वर्षसम्म आफू सडकमै मर्निङवाकमा हिँडिरहनुपर्ने त होइन रु भन्ने चिन्ताले उनी थला परेका छन् ।
कांग्रेस र एमाले शीर्ष नेताको बोली सुन्दा ओलीले अबको १४ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गरेर मात्र छाड्ने देखिएको छ । प्रचण्डलगायत अन्य विपक्षी नेताहरुको सेखी झार्न पनि कांग्रेस र एमाले गठबन्धन अझै बलियो बन्दै जाने संकेत देखिएपछि जनताले दुःख पाए, विकृति विसंगति बढ्यो भन्ने भाष्य निर्माण गर्न थालिएको छ । यदि अहिलेको सरकारले हालै जारी भएका पाँच विधेयक संसद् बैठक बोलाएर थप छलफल गरी पास गरे भने अध्यादेशबाट सरकार चलाउन लागियो भन्ने नारा पनि विपक्षीले गुमाउने निश्चित छ । त्यही भएर सरकारले माघको दोस्रो साता संसद्को अधिवेशन बोलाउने गृहकार्य थालेको छ । संसदलाई बिजनेस दिन विभिन्न विधेयक तयार हुँदैछन् ।