काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको घटनाका विषयमा आपत्ति जनाएको छ । आइतबार बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ ।
कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ । उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ गरिसकेको छ ।
शनिबार प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेका थिए । बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट थापा घाइते भएका कांग्रेस नेता थापाको बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्काइएको थियो ।
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो। सोही विवादका क्रममा चालकले थापामाथि हातपात गरेको प्रहरीले जनाएको छ।