रिबन

शपथपछि ट्रम्पको पहिलो भाषण – सीमा,आप्रवासन, चीनबारे सम्बोधन : सुशासन कायम गरी अमेरिकालाई शान्तिपूर्ण देश घोषणा गर्ने

काठमाडौं । डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ लिए। विदेशी अतिथिसहितको समारोहमा उनले विभिन्न घोषणासहितको सम्बोधन गरे। सन् २०२१ मा जो बाइडेनको शपथग्रहण कार्यक्रममा नगएका ट्रम्पको शपथ समारोहमा यसपटक बाइडेनसहित तीनजना पूर्वराष्ट्रपति र अन्य नेताहरूको उपस्थिति थियो।

के भने त ट्रम्पले ?

आजबाट अमेरिकाको स्वर्ण युग सुरू
ट्रम्पले शपथपछि आफूले अमेरिकाको स्वर्ण युग सुरू गर्ने दाबी गरे। उनले पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र अन्य प्रमुख व्यक्तिहरूको नाम लिँदै अमेरिकाको पुनरुत्थान गर्ने प्रतिबद्धता व्यक्त गरे।

दक्षिणी सीमामा राष्ट्रिय संकटकाल
ट्रम्पले दक्षिणी सीमामा राष्ट्रिय संकटकाल लागू गरी सेना परिचालन गर्ने र गैरकानूनी आप्रवासीलाई निष्कासन गर्ने घोषणा गरे। उनले अमेरिकाको सार्वभौमसत्ता जोगाउने र सीमा सुरक्षा सुदृढ गर्ने कुरा दोहोर्याए।

शान्ति निर्माता बन्ने चाहना
इजरायल-हमास युद्धविराममा आफ्नो भूमिकाको चर्चा गर्दै उनले अमेरिकालाई शान्ति निर्माता र एकताकर्ताका रूपमा स्थापित गर्ने योजना सुनाए।

योग्यता आधारित रोजगार प्रणाली
ट्रम्पले रंगभेदी आरक्षण हटाई योग्यता आधारित रोजगारीमा जोड दिने र लिङ्गको परिभाषालाई पुरुष र महिलासम्म सीमित गर्ने घोषणा गरे।

तेल उत्खनन् र ग्रीन ऊर्जाको विरोध
ट्रम्पले ग्यास र तेलको उत्खननलाई प्राथमिकता दिने र अमेरिकाको इन्धन विश्वभर निर्यात गर्ने योजना सार्वजनिक गरे।

चीनको प्रभाव अन्त्य
पानामा क्यानलमा चीनको अधिपत्यलाई अन्त्य गर्ने र गल्फ अफ मेक्सिकोको नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्ने बताए।

राजनीतिक प्रतिशोधको अन्त्य
उनले आफ्नो कार्यकालमा सरकारी सेन्सरसिप बन्द गर्ने र राजनीतिक प्रतिशोधका रूपमा मुद्दा नचलाउने प्रतिज्ञा गरे।

कोभिड खोप विवादबारे घोषणा
कोभिडकालमा खोप नलगाएको कारण जागिर गुमाएकालाई तलबसहित पुनः बहाली गर्ने वाचा गरे।

ट्रम्पले शपथपछिको आफ्नो सम्बोधनमा अमेरिकाको पुनरुत्थान, राष्ट्रिय सुरक्षा र न्यायको प्रतिज्ञा गर्दै आफ्नो नेतृत्वलाई सशक्त रूपमा प्रस्तुत गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *