
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएका छन् । सोमबार जनकपुरमा पत्रकारसँगको कुराकानीमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संविधान खारेज गर्न चाहेको भन्दै आरोप लगाएका हुन् । उनले भने,‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा समेत विभिन्न किसिमका आरोप तथा प्रत्यारोप लगाउँदै आएका छन् । अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिएपछि सत्तापक्षलाई विभिन्न भ्रामक कुराहरुको आरोप लगाइरहेका छन् । प्रचण्डको सो अभिव्यक्तिलाई अहिले सत्तापक्ष र नागरिक समाजले समेत आलोचना गरिरहेका छन् ।
यस्तै अध्यक्ष प्रचण्डले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा प्रधानमन्त्री ओलीले नै रोकेको भन्दै थप अर्को आरोप लगाए । संविधान संशोधनका विषयमा आफूले पटक–पटक प्रयास गर्दा समेत ओलीले नमानेको भन्दै प्रचण्डले संविधान संशोधन नहुनुको दोष प्रधानमन्त्री ओलीमाथि नै थुपारे । तर कांग्रेस र एमाले नेतृत्वको सरकार गठन भएपछि संविधान संशोधनको विषय सत्तापक्षले उठाउँदा माओवादी अध्यक्षले नै विरोध जनाएका थिए ।