अर्थ

अर्थ मन्त्रालय मधेश प्रदेश सरकारको बजेट रोक्का गर्ने तयारीमा

काठमाडौं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको भन्दै अर्थमन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयले विहीबार मधेश प्रदेश सरकारका मन्त्रालयसहितका निकायमा पत्र पठाउँदै अर्थ चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएपछि सरकार घाटामा गएको भन्दै बजेट रोक्ने चेतावनी दिएको हो ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.५३ प्रतिशत राजस्व संकलन गरेको , संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबाट केवल १३.२४ प्रतिशत मात्र प्राप्त हुने जानकारी आएको अर्थमन्त्रालयले मधेश सरकारलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

समग्रमा, कुल आय अनुमानको ३०.३५ प्रतिशत मात्र प्राप्त भएकोले प्रदेश संचित कोषमा न्यून मौज्दात रहेको र भुक्तानीमा चाप पर्न सक्ने सम्भावना देखिएकाले अर्थ मन्त्रालयको ३० माघको मन्त्रीस्तरीय निर्णय भएको पत्रमा उल्लेख गर्दै मधेश प्रदेश सरकारलाई यस्तो चेतावनी दिएको हो ।

मधेश प्रदेश सरकारलाई पत्र पठाउँदैँ अर्थमन्त्रालये सम्झौता नभएका परियोजनाहरू तथा ५० लाख वा सोभन्दा कम विनियोजन भएका आयोजना तथा कार्यक्रमहरूको विवरण दुई दिनभित्र पठाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ । मधेस प्रदेश सरकारलाई तोकिएको समयमा विवरण प्राप्त नभएमा, आय संकलनमा सुधार नभएसम्मका लागि सम्पन्न नभएका आयोजना तथा कार्यक्रमहरू रोक्का गर्न सक्ने अर्थमन्त्रालयले जनाएको छ।

‘न्यून सञ्चितिको कारण बजेट रोक्का गर्न सक्ने अवस्था आउन सक्ने हुँदा त्यहाँ मन्त्रालयको स्वीकृत बजेट तथा कार्यक्रममध्ये कार्यान्वयनमा गइसकेका आयोजना तथा कार्यक्रम बाहेक सम्झौता नभएका स्वीकृत आयोजना तथा कार्यक्रममध्ये ५० लाख वा सोभन्दा कम विनियोजन भएका आयोजना तथा कर्यक्रमको विवरण २ दिनभित्र यस मन्त्रालयमा पठाइदिनु हुन अनुरोध छ’, पत्रमा लेखिएको छ ‘म्यादभित्र आयोजना तथा कार्यक्रमको विवरण प्राप्त नभएमा अर्थ मन्त्रालयले जुनसुकै आयोजना तथा कार्यक्रम आय संकलनमा सुधार नभए सम्मको लागि रोक्का गर्न सक्नेछ ।’

अर्थ मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालय र आफ्नो अन्य मातहतको निकायमा पत्र पठाएकको छ । महालेखा नियन्त्रक कार्यालयले २८ माघमा कोष तथा लेखा नियन्त्रका कार्यालयहरुलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरणसम्बन्धी पठाएको पत्रमा लक्ष्य अनुसार राजश्व संकलन नभएकाले प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ता वापत विनियोजित रकमको १३.२४ प्रतिशतले हुन आउने रकम हस्तान्तरण गर्नु निर्देशन दिएको थियो

‘‘आर्थिक वर्ष २०८१/८२ को पौष मसान्त सम्म राजस्व लक्ष्यको तुलनामा ८४.३३ प्रतिशत मात्र संकलन भएको र सो अनुपातमा वित्तिय समानीकरण अनुदान हस्तान्तरण गर्न लेखी आए वमोजिम प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ता वापत विनियोजित रकमको १३.२४ प्रतिशतले हुन आउने रकम हस्तान्तरण गर्ने निर्देशन दिएको थियो । कार्यालयले २०८१/१०/२८ गतेको निर्णयानुसार अनुरोध छ’ महालेखा नियन्त्रक कर्यालयको २८ माघको पत्रमा सो कुरा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *