देश

नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ सुरू, रोजगारीलाई राष्ट्रिय एजेन्डा बनाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसले रोजगारीलाई प्रमुख राजनीतिक एजेन्डा बनाउने उद्देश्यसहित ‘मिसन रोजगारी’ अभियान सुरू गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको यो अभियान केन्द्रीय कार्यालयको पुस्तकालय तथा स्रोत केन्द्र विभागमार्फत सञ्चालन हुनेछ।

महामन्त्री थापाका अनुसार नेपालमा श्रम अभाव र बेरोजगारी दुवै समस्या रहेका छन्। ‘देशमा पर्याप्त श्रम शक्ति छ, तर रोजगारीको अवसर सीमित छ। कम पारिश्रमिकका कारण पनि युवा विदेशिन बाध्य छन्,’ उनले भने।

यो अभियानले रोजगारीलाई आर्थिक मात्र नभई प्रमुख राजनीतिक मुद्दाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। कांग्रेसले विभिन्न तहका सरकार, विश्वविद्यालय, तालिम प्रदायक संस्था तथा सरोकारवालासँग समन्वय गरी रोजगारी सिर्जनाका नीतिहरूमा सुधार ल्याउने तयारी गरिरहेको छ।

प्रारम्भिक रूपमा एक वर्षे कार्ययोजना तय गरिएको छ, जसअन्तर्गत ६ महिनाभित्र संवाद, अध्ययन, जनप्रतिनिधिहरूको अभिमुखीकरणलगायत कार्य अघि बढाइनेछ। कांग्रेसले संसद तथा बाहिर रोजगारीलाई प्राथमिक बहसको रूपमा उठाउने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *