
काठमाडौँ। सिंहदरबारस्थित ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) को ‘रेट्रोफिटिङ’ कार्यको भौतिक प्रगति २० प्रतिशत पुगेको छ। सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गरेको समीक्षामा यस्तो जानकारी दिइएको हो।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना प्रमुख सुनिलकुमार ठाकुरले भवनको वित्तीय प्रगति पनि २० प्रतिशत भएको बताए। “अदालतमा मुद्दा पर्नु, ठेक्का रद्ध हुनु जस्ता चुनौतीका कारण तोकिएको समयमा काम सम्पन्न गर्न चुनौती छ,” उनले भने, “आयोजनाको कामलाई तीव्रता दिन चारवटा सीसी क्यामेरा जडान गरिएको छ।”
भवनको रेट्रोफिटिङका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो। २०८२ मङ्सिर ६ गते आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको लागत करिब ३९ करोड रुपैयाँ रहेको छ।
सांसदहरूले आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। समितिका सभापति मायाप्रसाद शर्मा लगायतका सांसदहरूले भवनको अवलोकन गरेका थिए।