
काठमाडौँ । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ।
आठ दिनसम्म एउटा लेनमा मात्र प्रदर्शन गरिरहेका उनीहरूले आज भने तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्दा धकेलाधकेलको स्थिति आएको हो।
बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुली बजार पुल क्षेत्रमा केही बेर तनाव अवस्था सिर्जना भएको थियो। अहिले पनि तीनवटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिरहेका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि उनीहरू माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन्। सरकारले पटक–पटक वार्तामा बोलाए पनि उनीहरू विभिन्न विकल्प र शर्त अघि सार्दै आएका छन्।
यसैबीच शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ। तर वार्ताको समय भने तय भइसकेको छैन। सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ।