
काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा मच्चिएको राजावादी हिंसाका ‘जनकमान्डर’ दुर्गा प्रसाईं अन्ततः फन्दामा परेका छन्। दुई सातादेखि फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीले शुक्रबार झापामा पक्राउ गरेको जनाएको छ। तर, यो पक्राउको कथाभित्र लुकेको छ अर्को रहस्य, जहाँ प्रसाईंले भारतको आसाममा आत्मसमर्पण गरेको र नेपाल प्रहरीले सीमामा ‘उठाएको’ दाबी गरिएको छ।
प्रहरी प्रवक्ता दिनेश आचार्यले जारी गरेको विज्ञप्तिमा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौं ल्याइँदै गरेको उल्लेख छ। उनीहरूमाथि राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।
तर, प्रसाईंका ‘जनआन्दोलन समिति’का प्रवक्ता अधिवक्ता स्वागत नेपालले प्रहरीको भनाइलाई ठाडै चुनौती दिएका छन्। उनका अनुसार प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए र नेपाल प्रहरीले उनलाई काँकडभिट्टा नाकाबाट ‘उठाएको’ भिडिओ प्रमाणसमेत सार्वजनिक भइसकेको छ। नेपालले भारतीय प्रहरीले प्रसाईंलाई सीमासम्म पुर्याइदिएको र त्यहाँबाट नेपाल प्रहरीले निजी गाडीमा काठमाडौं ल्याएको दाबी गरेका छन्। प्रहरीले अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्ने डरले सत्य लुकाएको उनको आरोप छ।
यद्यपि, प्रहरी प्रवक्ता आचार्यले आफ्नो अडान कायमै राख्दै प्रसाईंलाई नेपालकै भूमि भद्रपुरबाट पक्राउ गरिएको दोहोर्याएका छन्।
सुरक्षा मामिलाका जानकारहरूका अनुसार नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण दुवै देशले फरार अभियुक्तलाई सीमा क्षेत्रमा पक्राउ गरेको देखाउने ‘सहमति’ लामो समयदेखि चल्दै आएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार खुला सीमाका कारण अपराधी एक देशबाट अर्को देशमा लुक्ने प्रवृत्ति छ र दुवै देशका प्रहरीबीच समन्वयमा सीमासम्म ल्याउने अभ्यास सामान्य हो। कहिलेकाहीँ नेपाल प्रहरी आफैँ भारतका विभिन्न सहरसम्म पुगेर अभियुक्त पक्राउ गर्ने गरेको पनि उनले स्वीकार गरे। तर, कानुनी अड्चनका कारण पक्राउ नेपालमै भएको देखाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
तीनकुनेको रक्तपात र प्रसाईंको भूमिका
चैत १५ गते राजसंस्था पुनर्बहालीको माग गर्दै तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारको जलेर र एक प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो। प्रदर्शनमा सरकारी र निजी सम्पत्तिमा समेत क्षति पुगेको थियो। प्रहरीले उक्त हिंसात्मक घटनाको योजनाकारको रूपमा प्रसाईंलाई हेरेको छ। प्रदर्शनको दिन प्रसाईंले प्रहरीको घेरा तोड्दै समर्थकलाई अघि बढ्न उक्साएको भिडिओ सार्वजनिक भएको थियो। प्रहरीले प्रसाईंमाथि राज्यविरुद्ध र सङ्गठित अपराधको आरोप लगाएको छ। यसअघि प्रहरीले उक्त घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित १७० जनालाई पक्राउ गरिसकेको छ।
प्रसाईंको पक्राउले तीनकुने हिंसाको अनुसन्धानमा नयाँ मोड लिने अपेक्षा गरिएको छ। तर, प्रहरीको ‘भद्रपुर’ दाबी र वास्तविकतामाथिको पर्दा कहिले खुल्ला भन्ने प्रश्न भने कायमै छ।