
काठमाडौं, वैशाख २९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। आन्दोलनरत शिक्षकहरुलाई अबिलम्ब कक्षाकोठामा फर्काउन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुले गम्भीरतापूर्वक जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ।
शिक्षक आन्दोलनले शैक्षिक सत्र नै धरापमा पार्न सक्ने खतरा औंल्याउँदै महामन्त्री थापाले आजै मन्त्रिपरिषद्को बैठक बोलाएर समस्या समाधानका लागि ठोस निर्णय लिन आग्रह गरेका छन्।
एक भिडिओ सन्देशमार्फत थापाले भनेका छन्, ‘शिक्षकहरुले उठाएका धेरै माग कानुन नै बनाएर सम्बोधन गर्नुपर्ने विषय होइनन्। मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्मचारीका समस्या, राहत शिक्षकको बिदा सञ्चितिजस्ता करिब १५ वटा विषय मन्त्रिपरिषद्ले तत्काल निर्णय गरेर हल गर्न सक्छ। यसका लागि आवश्यक स्रोतसाधन जुटाउन सरकारले विलम्ब गर्नुहुँदैन।’
कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारले अब ढिलाइ नगरी संसदको अधिवेशन आह्वान गर्नुपर्नेमा पनि महामन्त्री थापाले जोड दिएका छन्।