विचार

माओवादीले गजेन्द्रलाई टिकट दिएको भए ज्ञानेन्द्र शाही उफ्रिन पाउँदैनथें

काठमाडौंं । पछिल्लो समय नेपाली नेताहरू कमजोर बन्दै गएका छन् । उनीहरू लोभमा पर्दा देश खोक्रो बनिसकेको छ । सबै राजनीतिक दल नातावादले थिचिएका छन् । आफ्नो परिवार, आफन्त र कार्यकर्तालाई जागिर लाउनतर्फ मात्र उनीहरूको ध्यान गएको छ । नेताहरूलाई जसरी हुन्छ सम्पत्ति आर्जन गर्नु छ ।

जसका कारण मुलुक भ्रष्टाचारको दलदलमा फस्दै गएको छ । भुटानी शरणार्थी प्रकरणले पूरा विश्वको ध्यान नेपालतर्फ मोडिएको छ । यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाह हिन्दु राज्य र राजतन्त्र फर्काउन जोडबल गरिरहेका छन् । भारतको सहयोग लिएर राजतन्त्र ल्याउन सक्छु भन्ने मनोभाव अझै पनि उनमा छन् । उनले हालै मात्र भारतको भ्रमण गरे । राप्रपाका नेताहरू संविधानअनुसार चुनाव लडेर आए । २०७२ सालमा आएको नेपाल संविधानबमोजिम उनीहरूले चुनाव लडेका छन् । तर, संविधान पनि मान्ने, चुनाव पनि लड्ने अनि राजाको वकालत गर्दै हिँड्ने दोहोरो चरित्र देखिएको छ ।

राप्रपाका सांसदहरूले पनि अन्य सांसदझै लोगो लगाएका छन् । सरकारी गाडी चढेका छन्, तलबभत्ता बुझेका छन् । उनीहरूलाई सेवासुविधाका लागि जनताले भोट दिएर पठाएका हुन् ? जनताको भोटलाई अपमान गर्दै आएका उनीहरूले किन जनताले तिरेको करबाट तलबभत्ता खाइरहेका छन् ? राप्रपाका नेताहरू २०४७ सालमा बनेको चुनावमा राप्रपा चुनाव लडेका होइनन् । २०७२ सालमा बनेका संविधानमा उल्लेखित विषय मानेर उनीहरू चुनावमा गएका हुन् ।

नेपालको संविधान लोकतन्त्रमा आधारित भएर लेखिएको छ । अनि संविधान मानेर चुनाव लडेका उनीहरूले अहिले राजाको वकालत गर्न मिल्छ ? जतिबेला पनि राजाकै भक्तिगान गाउँदै हिँड्न मिल्छ ? गत मंसिर ४ गतेको निर्वाचनमा माओवादीले जुम्लाका गजेन्द्र महतलाई टिकट दिएको भए यी अभियन्ता भनिएका ज्ञानेन्द्र शाही आउने ‘चान्स’ नै थिएन ।


आफ्नो क्षेत्रमा बजेट नहालिदिएको भन्दै उनी संसद्मा धुरुधुरु रोएका थिए । संसारको ध्यान त्यतिबेला उनीप्रति खिचिएका थियो । माओवादीले गजेन्द्रलाई टिकट दिएको भए आज ज्ञानेन्द्र शाही सदनमा बुरुकबुरुक उफ्रिन पाउँदैनथें । त्यत्रो जनताले जनयुद्ध गरेर ल्याएको परिवर्तनलाई उल्ट्याउन राप्रपाले हरसम्भव गरिरहेको छ ।

नेपालमा एमसीसी पारित गर्नुहुँदैन भनेर जनताले सडक आन्दोलन गरे । आन्दोलनको क्रममा धेरै घाइते भए । केही समय त मुलुकको शान्ति नै भंग भयो । जनता कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने पक्षमा थिए । तर, सदनले एमसीसी पास गरेरै छाड्यो ।

नेपाली जनता कतिसम्म सोझासीधा छन् भन्ने चितवनबाटै थाहा हुन्छ । मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन भयो । रवि लामिछानेको ठूल्ठूला कुराको पछाडि लागे जनता । मंसिर ४ को चुनावमा रविको नेपाली नागरिकता छैन भन्ने कसैलाई थाहा थिएन । जनताले उनलाई भोट दिए । त्यसपछि उनको नागरिकताको सत्यतथ्य बाहिर आयो । रविको सांसददेखि गृहमन्त्री पद गयो । उनको कारणले चितवनमा फेरि उपनिर्वाचन भयो । जनताले तिरेको कर एउटै कामका लागि दुईपटक खर्च भयो ।

जनताले दुईपटक दुःख पाए । गल्ती उनले गर्ने अनि भोग्नुपर्ने चाहिँ जनता । रविजस्ता व्यक्तिले जनतालाई कतिसम्म ‘मुर्गा’ बनाउँदा रहेछन् भन्ने त स्पष्ट भइसकेको छ । अझै पनि रविले केही गर्छन् भनेर आश गर्नु बेकार छ । उनी ठूल्ठूला भाषण गर्ने, तर काम चाहिँ केही नगर्ने व्यक्तिमा पर्छन् ।

जनता पार्टीको कार्यकर्ता बन्ने अनि ‘दलाल’ हरू राष्ट्रियताको कुरा गर्ने देखिएको छ । यस्तै कारणले देश उभो लाग्न नसकेको । कार्यकर्ताको नाममा आफ्नो प्रयोग भइरहेको छ भन्ने कुरा जनताले बुझ्दैनन् । जसले गर्दा गुण्डागर्दी गर्नेहरू आज नेता भनिएका छन् । नेताका नाममा यिनीहरूले नेपाललाई भुङ्ग्रोमा राख्ने काम गरिरहेका छन् । नेपालले अमेरिकी सरकारलाई पत्र लेखेर रविको नागरिकता र पासपोर्टबारे सोधेको थियो । तर, अमेरिका सरकारले त्यसको जवाफ दिएन् ।

त्यहाँ केही रहस्य छ भन्ने जनताले बुझेका छैनन् । रविलाई अमेरिकाले ‘जासुस’ को रूपमा राखेको पनि हुनसक्छ भनेर जनताले बुझ्नुपर्छ । जो व्यक्ति नेपाली नागरिकता नभईकन चुनाव लड्न सक्छन्, उसले जे पनि गर्न सक्छ । राष्ट्र र राष्ट्रियताको माया गर्न सर्वप्रथम नागरिकता हुन जरुरी छ । देशको कानुन मान्नुपर्छ । तर, रविले यीमध्ये कुनै पनि मानेनन् । चीन, भारत, अमेरिकालगायत अन्य मुलुकले नेपालमा धेरै चासो बढाइसकेको छ ।

अरु देशको लडाइँमा नेपाल कतै बीचमा फस्ने त होइन ? यो सोचविचार गर्न जरुरी छ । जनताबाट चुनिएर सदनमा पुगेका सांसदहरूलाई यस विषयमा कुनै मतलब छैन । मुलुकमा विदेशीको हस्तक्षेप बढिरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू जिम्मेवार बनेका छैनन् । सदनमा २३ देखि ८० वर्ष उमेरका सांसद् छन् । तर, उनीहरूको बोली व्यवहार र काम हेर्ने हो भने नेपाली जनता लज्जित हुनुपर्ने अवस्था छ । कुनै माननीय अर्धनग्न भएर चर्चामा आउन खोज्छन्, कुनै माननीय सर्ट र पाइन्ट लगाएर ‘पपुल्यारिटी’ बटुल्न खोज्छन् ।

देश र जनताको अवस्था के छ ? भन्ने त उनीहरूलाई थाहा छैन । राष्ट्रिय पोसाकका बारेमा थाहा नहुने सांसदलाई राष्ट्रियता भनेको के थाहा ? नेपालको भूभाग कहाँसम्म हो ? कुनकुन देशले नेपालको जमिन मिचेको छ ? नेपालीको टाउकोमा कति ऋण छ ? देशको अवस्था के छ ? जनताको आयस्तर कहाँ छ ? बजारको अवस्था के छ ? बेरोजगारी कति छन् ? कुन जिल्लाको अवस्था कस्तो छ ? सांसदलाई थाहा छैन ।

देशभरका प्रतिनिधि सदनमा पुगेका छन् । तर, बोल्ने पालो सधैं गगन थापा र ज्ञानेन्द्र शाहीको मात्र आउँछ । अरु कोही बोलेको देखिँदैन । अरु सांसदहरू कि बोल्न डराएका हुन् कि बोल्न नजानेका हुन् ? कि सभामुखले बोल्न नदिएका हुन् ? अन्य जिल्लाबाट चुनिएर आएका सांसदले नबोलिदिँदा जनताको मन खिन्न भएको छ । सांसदहरूले कुरा राख्न नसक्दा त्यो क्षेत्र विकासबाट पिछडिने देखिएको छ । अरु सांसद बोल्न नपाएर कालो मुख लगाएर बसेका हुन्छन् । कति त्यहीँ सुत्छन् । बोल्न नपाएको झोकमा आएर सदनमा लुगा खोल्ने कार्यसमेत भयो । जनताले काम गर्न पठाएको सांसदहरू आफैं ध्यानमा मन्त्रमुग्ध छन् । यस्ता सांसदलाई तलबभत्ता खुवाउनु भनेको ‘बालुवामा पानी हालेसरह’ हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *