काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ ।
बुधबार साँझ निगमले एक विज्ञप्ती जारी गर्दै निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मटीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुने गरी वृद्धि भएको जनाएको छ । पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।