देश

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रश्तावित दामोदर खड्काको संसदीय सुनुवाई शुरु भएको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काको संसदीय सुनुवाई प्रारम्भ गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान समेत गरेको छ ।

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।

समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रश्तावित दामोदर खड्काको नाम प्रश्ताव गरी संसदीय सुनुवाई हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको बताइन् ।

संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमार्फत सार्वजनिक गर्न प्रश्ताव गरिन् ।

प्रश्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ । समिति सभापति न्यौपानेले सुनुवाईको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिए ।

समितिको बैठक अर्को सूचना जारी भएपछि बस्नेगरी आजको बैठक स्थगित गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *