काठमाडाैं । आजका सबै दैनिक अखबारहरूले मकवानपुरको दामनमा निस्सासिएर ८ भारतीय पर्यटकको मृत्यु भएको दुःखद् घटनालाई मुख्य समाचार बनाएका छन् । यसबाहेक सभामुखको उम्मेदवारी दर्ता, धादिङ बस दुर्घटना, ट्राफिक नियममा नयाँ व्यवस्था लगायत विषयलाई पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक समेटेका छन् ।
‘हिटर बालेर सुतेकाहरू उठेनन्’ शीर्षक दिएर कान्तिपुरले दामन घटनाबारे मर्मस्पर्शी ढंगले सामग्री छापेको छ । समाचार अनुसार, भारतको केरलाबाट नेपाल घुम्न आएका उनीहरूले चिसो सहन नसकेपछि राति करिब २ बजे जबरजस्ती गरेर रेस्टुरेन्टमा बलिरहेको ग्यास हिटर बोकेर लगी सबै परिवार एउटै कोठामा सुतेका थिए । अन्ततः त्यही ग्यास हिटरले उनीहरूले प्राण लिएको छ । कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतबीच थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुंगो लगाइने बताउनुभएको छ । त्यसको प्रकृया अगाडि बढिसकेको उहाँको भनाई छ ।
अन्नपूर्णले ‘ब्युँझिएनन् आठै जना’ शीर्षकमा ८ भारतीय पर्यटकको निसासिएर भएको मृत्युबारे मुख्य समाचार बनाएको छ । कोठामा हुने सामूहिन निधनबारे पनि अन्नपूर्णले आज सोधीखोजी गरेको छ ।
नागरिक दैनिकले विवादित नौ विधेयकबारे विस्तृत लेखेको छ । सभामुख पदमा अग्नि सापकोटा निर्विरोध भएको र सरकार र प्रतिपक्षबीच सन्तुलन बनाउनु चुनौती हुने समाचार मुख्य छ । भित्रि पेजमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठ बुधबार दिउँसो ३ बजे वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहितका नेताबीच छलफल हुनलागेको हो ।
कारोबार दैनिकले नेपाल आयल निगमले नाफा बढाउँदा दबाबमा नेपाल टेलिकम परेको समाचार लेखेको छ ।
जथाभावी बाटो काटे अब हजार जरिवानाबारे नेपालसमाचार पत्रमा खबर छ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई जरिवाना गर्ने प्रस्ताव गरेको छ ।