देश

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

बाँके । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ ।

गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनीहरु तीनै जना जाजरकोटका हुन् । अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सातजनाको शल्यक्रिया गरिएका उनले बताए। श्रेष्ठका अनुसार यसअघि गम्भीर घाइते भएका एक जनाको मृत्यु भइसकेको छ ।

दुई गम्भीर बिरामीको आइसियु वार्डमा र एक जना गर्भवती महिलाको प्रसूती वार्डमा उपचार भइरहेको श्रेष्ठले बताए ।

उनका अनुसार जाजरकोटका एक जना डिस्चार्ज भएर घर फर्केका छन् ।‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि स्थानान्तरण गरिएको थियो ।

बिरामी पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका छन् । यसैबीच अस्पतालले बिरामीलाई सङ्क्रमण हुन सक्ने भन्दै निरन्तर भेटघाट र भिडभाड नगर्न आग्रह गरेको छ ।

अस्पतालले बिरामीलाई भेट्न निश्चित समय तोकेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *