काठमाडौं।काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा मंगलबार रातिमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको ठुलोभर्याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोकका ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई २ लाख ११ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखाका ४० वर्षीय किरन थापा समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको चेक १ थानसहित पक्राउ गरेको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका—८ बाहाकोट घर भई सोही नगरपालिका—४ नौडाँडामास्थित भीमबहादुर नेपालीको होटलमा जुवातास खेलिरहेको अवस्थामा भीम बहादुरसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका—२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायतसमेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले १३ हजार ३५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका—३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरुलाई ३६ हजार १ सय रुपैयाँसहित पक्राउ गरेको हो ।