काठमाडौं । बागमति प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्मा नियुक्त गरेका दश सदस्यहरुले सपथ ग्रहण गरेका छन् । बिहीबार सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायतले सदस्यहरुलाई शपथ गराएका थिए । सो कार्यक्रम सामाजिक विकास मन्त्रालयको सभाहलमा संचालन भएको थियो ।
कार्यक्रममा मुख्यमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकार विनोद शाह,मन्त्रालयका सचिव बद्रिनाथ गैर्हे लगायतकाे कार्यक्रममा उपस्थिति रहेको थियो । खेलकुद परिषदको विभागीय मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय रहे पनि प्रदेश खेलकुद विकास परिषद्सँग सम्बन्धित कानुन हाल संशोधन नभएकाले परिषद्को पदाधिकारी र सदस्य नियुक्ति सम्बन्धि क्षेत्राधिकार सामाजिक विकास मन्त्रालयसँग रहेको छ ।
२ जेठ २०८१ मा यसअघिका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय गठन गरेका थिए । प्रदेश खेलकुद विकास ऐन २०७५ ले अध्यक्ष विभागीय मन्त्री हुने व्यवस्था गरेको छ । सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरुलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवद्वन र खेलाडीहरुको हितका लागि काम गर्न सुझाव दिएकी छिन् ।