काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सडकमार्गमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनले भोलि (आइतबार) सभापति लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने जानकारी दिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार (पुस २५ गते) साँझ रिहा भएका हुन् । तर उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा परेकाले अदालत हाजिर हुनुपर्ने भएको हो ।
काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने शर्तमा कास्की प्रहरीले उनलाई छाडेको हो । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया अगाडि बढेको छ ।