चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विकस्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् ।
सोमबार बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि मुख्यमन्त्री लामाले प्राकृतिक तथा पुरातात्विकस्थलहरुको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए। लामालेत्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गरेका थिए ।
आश्रमका अध्यक्ष शैलेन्द्र पिया र महासचिव अशोक पोखरेलले आश्रमसहितका विभिन्न संरचनाबारे जानकारी गराएका थिए । उनीहरुले आश्रमका लागि प्रदेश सरकारले सहयोग गरे अझै व्यवस्थित बनाउँदै लैजान सहज हुने बताएका थिए। अनुगमनका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, बागमती प्रदेशका सदस्यहरु उत्तम जोशी, गीता गुरुङ लगायतको सहभागिता थियो ।