विश्व

भारतीय प्रधानमन्त्रीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन

श्रीनगर (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गरेका छन् । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको विवादित उच्च–भूमि सीमा क्षेत्रहरूतर्फ सबै मौसममा पहुँच पु¥याउने छ ।

छ दशमलव चार किलोमिटर (चार माइल) लामो र वर्षको चारदेखि छ महिनासम्म हिउँले बन्द हुने खतरनाक पर्वत भञ्ज्याङमुनि फैलिएको जेड–मोड वा सोनमार्ग सुरुङ सीमा क्षेत्रहरूमा व्यापक पूर्वाधार अभियानको एक हिस्सा हो ।

यसले भारत–प्रशासित काश्मीरलाई लद्दाखसँग जोड्न मद्दत गर्छ र सैन्य आपूर्तिको द्रुत परिचालन सम्भव बनाउन श्रीनगर–लेह राजमार्गलाई वर्षभरि खुला राख्न सघाउँछ ।

“यहाँ सुरुङको उद्घाटनसँगै कनेक्टिभिटी उल्लेखनीय रूपमा सुधार हुनेछ”, एक दशक लागेको ३१ करोड ३० लाख डलरको यस परियोजनाको रिबन काटेर चिसोबाट जोगिन ज्याकेट लगाएका प्रधानमन्त्री मोदीले भने ।

विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीन दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र उनीहरूको तीन हजार पाँच सय किलोमिटर साझा सीमा तनावको स्थायी स्रोत बनेको छ ।

सन् २०२० मा दुवै देशका सेनाहरू बीच झडप हुँदा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिए र दुवै पक्षका सेनाहरू आज विवादित उच्च–भूमि सीमा क्षेत्रहरूमा आमनेसामने छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीच पाँच वर्षमा पहिलो औपचारिक बैठक हुनुभन्दा केही समयअघि बेइजिङ र नयाँदिल्ली अक्टोबरमा विवादित क्षेत्रहरूमा गस्ती गर्न सहमत भएका थिए ।

सोही मार्गमा रहेको अर्को १३ किलोमिटर लामो जोजिला सुरुङ आधाभन्दा बढी सम्पन्न भएको छ र सन् २०२६ मा खुल्ने सूचना मन्त्रालयले जनाएको छ ।

जेड–मोड सुरुङमा अक्टोबरमा बन्दुकधारीहरूले सात कामदारको हत्या गरेका थिए । यो विवादित काश्मीरमा दशकौँदेखि चलिरहेको विद्रोहको हिस्सा थियो ।

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि भारत र पाकिस्तानबीच विभाजित भएको छ र दुवै देशले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्छन् । विद्रोही समूहहरूले काश्मीरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दछन् ।

भारतले विश्वकै सबैभन्दा अग्लो चेनाब रेल पुल निर्माणसहित मैदानी भू–भागलाई पहिलो पटक काश्मीरसँग जोड्ने तीन अर्ब ९० करोड डलरको रेलमार्ग पनि निर्माण गरेको छ ।

दुई सय ७२ किलोमिटर लामो रेलमार्ग सेनाको उत्तरी कमान्डको मुख्यालय रहेको ग्यारिसन सहर उधमपुरबाट सुरु भई क्षेत्रको राजधानी श्रीनगरसम्म पुग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *