देश

राष्ट्रियसभाका अध्यक्षद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एक अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज दाहाल द्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आ आफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । “आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्”, सन्देशमा भनिएको छ ।

“नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्”, उनले भने ।

अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लास पूर्वक मनाउन आग्रह गरे । उनले थारू र मगर समुदायले बितेको वर्षको समीक्षा सहित आजका दिन देखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लास पूर्वक मनाउने बताए ।

यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेल लगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *