कैलाली । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व तयारी पूरा भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् ।
थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्ने लगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् ।
पुसको अन्तिम दिन देखि माघी शुरु हुने गरेका घोडाघोडी नगर भल्मन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले बताए । उनका अनुसार पुसको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर, बङ्गुर काटिने प्रचलन छ । यसलाई ‘जिता’ मार्ने भनिन्छ ।
पर्व सँगै थारू समुदायमा बरघर, भलमन्सा, चिराकी, चौकीदार फेरबदल गर्ने वा पुरानालाई राख्ने भन्ने बारे छलफल शुरु भइसकेको चौधरीले जानकारी दिए । “गाउँघरमा आगोको मुढाहरू ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतहरू पनि गाइने गरिन्छ । पुसको अन्तिम दिन रातभरि आगो तापेर आज बिहानै स्नान गर्ने प्रचलन छ”, उनले भने ।
अध्यक्ष चौधरीका अनुसार आज नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूला बाट आर्शीवाद लिने र सानालाई आर्शीवाद दिने प्रचलन रहिआएको छ । माघेसङ्क्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको उनले बताए ।
पर्वको अवसरमा कैलालीका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन् । घोडाघोडी नगरपालिका स्थित बुट्का बाबा मन्दिरमा माघी मेलाको आयोजना गरिएको छ । ‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुटका बाबाको संरक्षण’ भन्ने मूल नाराका साथ माघेसङ्क्रान्ति तीर्थ मेला शुरु भएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत पुस २९ गते देखि शुरु भएको मेला यही माघ ४ गते सम्म सञ्चालन हुनेछ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारू संस्कृति झल्कने परम्परागत नृत्य, वेषभूषा तथा खानाको प्रदर्शन गरिनेछ । बुटका बाबा मेला भर्न कैलाली जिल्ला सहित बर्दिया, दाङ, कञ्चनपुर बाट हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलिया लगायत ठाउँ बाट भारतीय नागरिक आउने उनले जानकारी दिए ।
बुटका बाबा मन्दिरको पौराणिक किंवदन्ती अनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासले बताए ।
यसैगरी आजै जिल्लाको गौरीगङ्गा स्थित नुक्लीपुर घरबास ‘होमस्टे’मा मघौटा नाचका साथै घैँटो फोर कार्यक्रमको आयोजना गरिएको घरबास सञ्चालक दिनेश दहितले जानकारी दिए । कैलालीको बर्दगोरिया धाममा पनि माघी मेलाको आयोजना गरिएको छ । जिल्ला धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने स्थानमा मेलाको आयोजना गरिएको छ ।