हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिद स्मृति रंगशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु. चार करोड ५० लाख र करिब रु. दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रंगशाला निर्माण भएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रंगशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताए । उनले रंगशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने बताए ।
“जनप्रतिनिधि र स्थानीयको इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रंगशाला बनेको छ”, उनले भने, “पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।” उनले रंगशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिए ।
रंगशालाको निर्माण पूरा भएसँगै आगामी फागुन १ गतेदेखि सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएका छन् । उक्त प्रतियोगिताका यसअघिका संस्करण जनता मावि फापर बारीको खेल मैदानमा हुँदै आएको थियो ।